काठमाण्डौ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारबाट बुधबार राजीनामा दिएका गृहमन्त्री सुधन गुरूङ २७ दिनअघि मन्त्री नियुक्त हुँदा तेस्रो वरीयतामा थिए ।
त्यति बेला पार्टीभित्र कचकचबीच प्रधानमन्त्री बालेनले नै उनलाई गृहमन्त्री बनाएका थिए। सँगसँगै, उनलाई मन्त्रिपरिषदको मर्यादाक्रममा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेपछि तेस्रो स्थानमा राखिएको थियो । पहिलो पटक मन्त्री भएका र पार्टीमा पनि भर्खरै प्रवेश गरेका उनी कसरी मन्त्रिपरिषदमा तेस्रो वरीयतासहित गृहमन्त्री बने भन्नेमा धेरैको चासो थियो ।
मन्त्रिपरिषदका सदस्यहरूले नै यो कुरा उठाएपछि सरकार गठन भएको दुई साता नबित्दै मर्यादाक्रम हेरफेर गरेर सुधन गुरूङलाई पाँचौं स्थानमा झारिएको थियो । त्यसअघि चौथो वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई तेस्रो वरीयतामा चढाइएको थियो भने ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ छैठौंबाट चौथोमा उक्लिएका थिए ।
मन्त्रिपरिषदकै केही सदस्यले अघिल्लो चोटि रास्वपा सरकारमा गएका बेला मन्त्री भइसकेका विराजभक्त, शिशिर लगायतलाई वरीयतामा तल राखेर भर्खरै पार्टी प्रवेश गरेका वा पहिलोचोटि मन्त्री भएकाहरूलाई माथि राखिएकोमा प्रश्न उठाएका थिए ।
उनीहरूले यो कुरा प्रधानमन्त्री बालेन, पार्टी सभापति रवि लामिछाने, उपसभापति लगायत सचिवालयका अन्य नेताहरूलाई पनि सुनाए । त्यसपछि सबैसँग सरसल्लाह गरेर पार्टी सभापति लामिछानेले प्रधानमन्त्री बालेनको सहमतिमा मर्यादाक्रम सच्याइएको एक मन्त्रीले बताएका थिए ।
यसरी तेस्रो वरीयतामा नियुक्त भई पाँचौंमा झरेका गृहमन्त्री सुधनले सरकार बनेको एक महिना नबित्दै सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा रहेका दीपक भट्टसँग व्यावसायिक साझेदारीबारे विवाद उत्पन्न भएपछि बुधबार राजीनामा दिएका छन् ।