काठमाण्डौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट फर जस्टिस नेपाल’ले “म्यूजिक फर पीस” (शान्तिका लागि सङ्गीत) कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । शुक्रबार कमलपोखरीस्थित रसियन हाउसमा आयोजित उक्त कार्यक्रममा सङ्गीतका विभिन्न धुनमार्फत विश्व शान्तिको कामना गरिएको थियो ।

कार्यक्रममार्फत शान्तिका अग्रदूत गौतम बुद्धको देश नेपालबाट विश्व समुदायलाई युद्ध होइन, संवाद र वार्तामार्फत शान्तिको मार्ग खोज्नुपर्ने सन्देश प्रवाह गरिएको संस्थाका अध्यक्ष टिकाराम खड्काले जानकारी दिए । यस कार्यक्रमको मुख्य उद्देश्य केवल मनोरञ्जन नभई सांस्कृतिक माध्यमबाट शान्तिको बुलन्द आवाज उठाउनु रहेको अध्यक्ष खड्का भनाई थियो ।

कार्यक्रममा रसियन दुतावासकी काउन्सिलर तथा रसियन हाउसकी निर्देशक अनास्तासिया खोखलोभाको सन्देश सुनाउँदै रसियन हाउसका कार्यक्रम व्यवस्थापक सन्तोष कार्कीले संगीतलाई सांस्कृतिक संवादको सशक्त माध्यमको रूपमा व्याख्या गरे । उनले रूस–नेपाल कूटनीतिक सम्बन्धको ७०औं वर्षगाँठको सन्दर्भमा यस कार्यक्रमलाई साझा मूल्य, सांस्कृतिक विविधता, एकता र शान्तिको प्रतीकका रूपमा लिएको पनि उल्लेख गरे ।

रूस र नेपाल दुवै बहुधार्मिक तथा बहुजातीय समाज भएको उल्लेख गर्दै उनले सन् २०२६ लाई रूसले ‘स्वदेशी जनजाति एकताको वर्ष’ घोषणा गरेको विषयसमेत उनले कार्यक्रममा जोडेका थिए ।