काठमाण्डौ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेता चयनमा समय खर्च गरेकोमा असन्तुष्टि जनाएका छन् । उनले आफूलाई देखाएर दलको नेता चयनमा समय खर्चिएका विवरण गलत रहेको बताए ।
केसीसँग शनिबार कांग्रेसका उपसभापतिहरू विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्री गुरुराज घिमिरेले छलफल गरेका थिए । उनीहरूले संसदीय दलको नेताको आकांक्षीहरूसँग छुट्टाछट्टै छलफल गरेका छन् ।
अनुभव, परिपक्वताभन्दा पनि जनप्रियतामा पदाधिकारी गएको उनले बताए । मापदण्डमा अनुभवी, दुर्गम क्षेत्र, युवा जे बनाए पनि बनाउनुपर्ने उनले बताए ।
सांसद बासना थापालाई अघि बढाउने हो भने आफू प्रस्तावक बन्ने केसीले बताए । ‘जे गरे पनि निर्णय गरियोस् यसमा म कुनै हालतमा समस्या होइन,’ उनले भने । उनले सहमति हुँदा आफू पनि दाबेदार रहेको तर मापदण्ड बनाएर अरु नाममा सहमति हुन्छ भने पनि आफू तयार रहेको बताए ।
‘सहमति हो भने मेरो पनि दाबी हो । निर्वाचन हो भने म लड्दिनँ भनेकै छु । यहाँ मलाई जोडेर खाली गगन (सभापति गगन थापा) को ससुरा भनेर भाष्य तयार गरिएको छ । यसमा मलाई दु:ख छ,’ केसीले भने ।