फिल्मी ‘थलपति’को राजनीतिक ब्लकबस्टर: टीभीकेले डीएमके–एआईएडीएमकेको ६० वर्षे वर्चस्व तोड्यो

1.8k Shares

दक्षिण भारतीय राज्य तमिलनाडु को राजनीतिमा ऐतिहासिक मोड आएको छ। अभिनेता जोसेफ विजय नेतृत्वको नयाँ दल तमिलगा भेट्री कड्गम (टीभीके) ले पहिलो निर्वाचनमै शानदार सफलता हासिल गर्दै दशकौँ पुरानो दुईदलीय वर्चस्वलाई तोडेको छ ।

लामो समयदेखि डीएमके र एआईएडीएमके बीच सीमित रहेको सत्ता प्रतिस्पर्धा अब त्रिकोणात्मक मात्र नभई पूर्ण रूपमा नयाँ राजनीतिक संरचनातर्फ मोडिएको देखिन्छ । तमिलनाडुको राजनीतिमा फिल्मी स्टारहरूको प्रभाव नयाँ होइन। एम.जी. रामाचन्द्रन, एम. करुणानिधि, जयललिता जस्ता व्यक्तित्वहरूले पहिले नै सिनेमाबाट राजनीतिमा सफलता हासिल गरिसकेका थिए। तर विजयको प्रवेशले यस परम्परालाई नयाँ उचाइमा पुर्‍याएको छ ।

टीभीकेले पहिलो निर्वाचनमै सबैभन्दा ठूलो दल बनेर “फिल्म स्टार पनि राजनीतिक सुपरस्टार बन्न सक्छ” भन्ने कुरा प्रमाणित गरेको छ । यससँगै तमिलनाडुले छैठौँपटक फिल्म क्षेत्रबाट आएको नेतृत्व पाउने निश्चित भएको छ । करिब ६० वर्षदेखि पालैपालो शासन गर्दै आएका डीएमके र एआईएडीएमकेबीचको प्रतिस्पर्धा मुख्यतः “तमिल पहिचानको असली प्रतिनिधि को ?” भन्ने विषयमा केन्द्रित थियो । तर विजयको उदयसँगै यो बहस कमजोर हुँदै गएको छ। अब जनताले विद्युत् कटौती, पूर्वाधार, भ्रष्टाचारजस्ता व्यवहारिक मुद्दामा ध्यान दिन थालेको संकेत देखिएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार विजयले “फ्यानलाई मतदातामा रूपान्तरण गर्ने” नयाँ रणनीति अपनाए । उनले कम देखिने तर प्रभावशाली प्रचार शैली प्रयोग गरे, जसले मतदातामा उत्साह सिर्जना गर्‍यो। कुनै पनि एक्जिट पोलले उनको जितको अनुमान नगरेको अवस्थामा उनले ३५ भन्दा बढी दललाई पछि पार्दै ऐतिहासिक विजय हासिल गरेका छन् ।

निर्वाचन परिणाममा टीभीकेको प्रभाव राज्यभर देखिएको छ, विशेषगरी उत्तर र तटीय क्षेत्रमा यसको प्रभाव बढी देखियो। यता डीएमकेले दक्षिणी क्षेत्रमा केही पकड कायम राख्यो भने एआईएडीएमकेले उत्तर–मध्य क्षेत्रमा सीमित सफलता पायो ।

२२ जुन १९७४ मा चेन्नईमा जन्मिएका विजय फिल्मी पृष्ठभूमिबाट आएका हुन् । उनका बाबु एस.ए. चन्द्रशेखर चर्चित निर्देशक थिए। सानै उमेरदेखि फिल्ममा सक्रिय रहेका विजय पछि “थलपति” नामले चिनिन थाले-जसको अर्थ हुन्छ ‘सेनापति ’। अहिले यही ‘थलपति’ राजनीतिमा पनि शक्तिशाली नेताको रूपमा उदाएका छन् ।

फेब्रुअरी २०२४ मा उनले औपचारिक रूपमा टीभीके स्थापना गरेका थिए । चुनावअघि उनले लोकसभा निर्वाचनमा भाग नलिने निर्णय गर्दै सम्पूर्ण ध्यान प्रदेश निर्वाचनमा केन्द्रित गरेका थिए। साथै, उनले सक्रिय राजनीतिमा आएपछि अभिनय पूर्ण रूपमा छोड्ने घोषणा पनि गरेका थिए । उनको चुनावी एजेन्डामा सामाजिक न्याय, धर्मनिरपेक्षता, आर्थिक सहयोग, महिला सशक्तीकरण र गरिबमुखी कार्यक्रमहरू प्रमुख थिए। महिलालाई मासिक भत्ता, निःशुल्क ग्यास सिलिन्डर, सस्तो ऋणजस्ता योजनाले मतदातालाई आकर्षित गरेको विश्लेषण गरिएको छ ।

समग्रमा, विजयको उदयले तमिलनाडुको परम्परागत द्रविड राजनीतिक संरचनालाई चुनौती दिएको छ । यो परिणामले नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरूको उदय सम्भव रहेको सन्देश दिएको छ-जसले भविष्यमा भारतीय राज्यहरूको राजनीतिमा समेत प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार