काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संवैधानिक परिषद्को बैठक बोलाएपछि विभिन्न संवैधानिक निकायका प्रमुख नियुक्तिबारे चासो बढेको छ ।
सरकारले परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि बैठक बोलाइएको हो। राष्ट्रपतिको असन्तुष्टिका बाबजुद मन्त्रिपरिषद्ले पुनः सिफारिस गरेपछि अध्यादेश जारी भएको थियो, र त्यसपछि छिट्टै परिषद्को बैठक राखिएको हो ।
यस निर्णयसँगै विशेषगरी सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रमुख चासोको विषय बनेको छ । पूर्व प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अवकाशमा गएपछि हाल सर्वोच्च अदालत कामु नेतृत्वमा सञ्चालन भइरहेको छ ।
वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई प्रधानन्यायाधीश बन्ने सम्भावना उच्च देखिए पनि अन्तिम निर्णय प्रधानमन्त्रीको इच्छामा निर्भर रहने विश्लेषण गरिएको छ । प्रधानन्यायाधीशका लागि रोस्टरमा सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरि फुयाँल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ रहेका छन् ।
यससँगै निर्वाचन आयोगका प्रमुख आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष लगायत अन्य संवैधानिक निकायमा पनि पद रिक्त रहेकाले ती नियुक्तिहरू पनि चासोमा परेका छन् । परिषद्ले सिफारिस गरेपछि संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी राष्ट्रपतिले अन्तिम नियुक्ति गर्ने व्यवस्था रहेको छ ।