१५ वर्ष अलपत्र पारेको गुइगाड पुल निर्माण कम्पनीलाई १८ करोड जरिबाना

2.2k Shares

काठमाडौं । बाजुराको गुइगाड खोलामा निर्माणाधीन पुल अलपत्र पारेको आरोपमा निर्माण कम्पनी राजेन्द्र–थेगी जेभीलाई करिब १८ करोड रुपैयाँ जरिबाना गरिएको छ। सडक डिभिजन कार्यालय साँफेबगर अछामले कम्पनीलाई १७ करोड ९९ लाख ३२ हजार ४४ रुपैयाँ जरिबाना तोकेको हो।

कार्यालयका अनुसार पुल निर्माणमा चरम लापरबाही भएको, पटक–पटक ताकेता गर्दा पनि काम सम्पन्न नगरेको तथा गुणस्तरहीन निर्माण गरिएको पाइएपछि ठेक्का रद्द गर्दै जरिबाना प्रक्रिया अघि बढाइएको हो। ठेक्का २०८३ मंसिर १५ गते रद्द गरिएको थियो भने त्यसपछि ३५ दिने सार्वजनिक सूचना जारी गरिएको जनाइएको छ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर सुभाष शाहले तोकिएको समयभित्र रकम नतिरेपछि अब सरकारी बाँकीसरह असुलउपरका लागि कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय पठाउने तयारी भइरहेको बताए।

साँफे–मार्तडी सडक खण्डअन्तर्गत पर्ने उक्त पुल २०६८ सालमा निर्माण सम्झौता गरिएको थियो। २०७० सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि १५ वर्ष बित्दा समेत पुल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

कार्यालयका अनुसार पुलले ४५ टन भार धान्नुपर्ने भए पनि परीक्षणका क्रममा ३० टन भारसमेत धान्न नसकी संरचनामा चर्किने समस्या देखिएको थियो। दुर्घटनाको जोखिम बढेपछि हाल पुलमा एकपटकमा एउटा मात्रै सवारीसाधन सञ्चालन गर्न निर्देशन दिइएको छ।

करिब ५ करोड ९६ लाख रुपैयाँ लागतमा निर्माण सम्झौता गरिएको पुलको अधिकांश रकम निर्माण कम्पनीले भुक्तानी लिइसकेको भए पनि गुणस्तरहीन कामका कारण पुल स्वीकृत हुन नसकेको जनाइएको छ।

सम्बन्धित समाचार