एनआरएनएको आपत्ति : विदेशी नेपाली चिकित्सकको लाइसेन्स खारेजी निर्णय फिर्ता लिन माग

2.4k Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा कार्यरत नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ । संघले उक्त निर्णय तत्काल फिर्ता लिन नेपाल सरकारसँग माग गरेको हो ।

एनआरएनएका अनुसार मेडिकल काउन्सिलको निर्णय विदेशमा रहेका नेपालीहरूको दक्षता, अनुभव र लगानीलाई मुलुकको समृद्धिमा उपयोग गर्ने राज्यको नीतिविपरीत रहेको छ । संघले यस्तो निर्णयले नेपालसँग सहकार्य गर्न चाहने प्रवासी नेपालीहरूलाई निरुत्साहित बनाउने जनाएको छ ।

एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले ३३ जना नेपाली चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णयले सम्बन्धित चिकित्सकहरूको पेशागत भविष्य मात्र नभई विदेशमा कार्यरत सम्पूर्ण नेपाली चिकित्सक समुदायको मनोबलमा समेत नकारात्मक असर पारेको बताए ।

उनले नेपालको संविधानले गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गरिसकेको अवस्थामा बसोबासकै आधारमा पेशागत पहिचान खोस्नु न्यायोचित नहुने धारणा राखे । चिकित्सा क्षेत्रजस्तो संवेदनशील विषयमा यस्ता निर्णय लिनुअघि सम्बन्धित पक्षसँग पर्याप्त परामर्श, स्पष्ट आधार र प्रक्रियागत पारदर्शिता अपनाउनुपर्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार