काठमाडौं । सरकारले नेकपा (एमाले) लाई ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवन खाली गर्न निर्देशन दिएपछि एमालेले दशकौँदेखि सरकारी तथा प्रतिष्ठानका भवन प्रयोग गर्दै आएको विषय फेरि चर्चामा आएको छ ।
भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले २३ वैशाखमा सूचना जारी गर्दै कानुनअनुसार लिज प्रक्रियामा नआएका संस्थाले सरकारी जग्गा तथा संरचना खाली गर्नुपर्ने जनाएको थियो । सोही आधारमा एमाले पार्टी कार्यालय रहेको तुल्सीलाल स्मृति प्रतिष्ठान खाली गर्न भनिएको हो।
सरकारका अनुसार २०७३ र २०७४ सालमा लिज प्रक्रियाका लागि सूचना प्रकाशित भए पनि एमाले पक्षले निर्धारित समयमा निवेदन नदिएको दाबी गरिएको छ । एमालेले भने २०५८ सालदेखि तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानका नाममा रहेको जग्गा प्रयोग गर्दै आएको थियो ।
एमालेले भूकम्पपछि बल्खुस्थित कार्यालय छाडेर २०७२ सालमा धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा कार्यालय सारेको थियो । पछि चक्रपथ विस्तार आयोजनाका कारण त्यहाँबाट थापाथली हुँदै २०७८ सालमा च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान पुगेको थियो । रिपोर्टअनुसार एमालेले तुल्सीलाल स्मृति प्रतिष्ठानसँग पाँच वर्षे सम्झौता गरेको थियो ।
पार्टी विभाजनको आन्तरिक विवाद उत्कर्षमा रहेका बेला तत्कालीन नेतृत्वले रणनीतिक रूपमा कार्यालय च्यासल सारेको उल्लेख गरिएको छ । सरकारको पछिल्लो निर्णयपछि एमालेमाथि सरकारी सम्पत्ति प्रयोगको विषयमा राजनीतिक र कानुनी दबाब बढेको विश्लेषण गरिएको छ ।