काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको हो ।
एक मन्त्रीका अनुसार बैठक अपराह्न ४ बजेका लागि बोलाइएको हो । बैठकमा सरकारका नियमित कामकारबाही, मन्त्रालयहरूको प्रगति समीक्षा तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।
सरकारले यसअघि सार्वजनिक गरेको १०० दिने कार्यसूची कार्यान्वयनको अवस्थाबारे पनि बैठकमा समीक्षा हुने बताइएको छ । कार्यसूची कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा मन्त्रीहरूबीच छलफल हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।
त्यसैगरी, पछिल्लो समय भइरहेका प्रशासनिक गतिविधि, विभिन्न मन्त्रालयका निर्णय तथा समसामयिक राष्ट्रिय मुद्दाहरू पनि बैठकको एजेन्डामा पर्न सक्ने बताइएको छ । केही स्रोतका अनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश लगायतका विषयमा समेत छलफल हुन सक्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्री शाह नेतृत्वको सरकारले हाल शासन सुधार, प्रशासनिक पारदर्शिता र कार्यसम्पादनमा केन्द्रित कार्यक्रम अघि बढाइरहेको छ । यसै सन्दर्भमा मन्त्रिपरिषद् बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।