सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामामा शनिबार साँझ भएको भीषण आगलागीमा ६ परिवारका १३ वटा घर तथा गोठ जलेर नष्ट भएका छन् । आगलागीबाट लाखौँ रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
स्थानीय रामअवतार यादवको गोठमा बालिएको घुरबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । साँझ करिब ७ बजेतिर सुरु भएको आगो तीव्र रूपमा फैलिँदा आसपासका घर तथा गोठमा समेत पुगेको थियो ।
आगलागीबाट रामअवतार यादवका दुई घर र एक गोठ, जुगाई यादवका दुई घर र एक गोठ, अनिल यादव (गिरिजा) का दुई घर र एक गोठ, योगिन्द्र यादवको एक घर, राजकुमार यादवको एक घर तथा धिरेन्द्र यादवको एक घर पूर्ण रूपमा जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।
आगो नियन्त्रणका लागि हनुमाननगर कंकालिनी नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट बारुणयन्त्र परिचालन गरिएको थियो । को.बरसाइन प्रहरी चौकीका प्रहरी र स्थानीयवासीको सक्रियतापछि करिब एक घण्टामा आगो नियन्त्रणमा आएको जनाइएको छ ।
प्रहरीका अनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, फर्निचर, गरगहना तथा नगदसहित करिब ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । यद्यपि पूर्ण क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।