काठमाडौं । सरकारी अस्पतालहरूमा नर्सिङ जनशक्तिको अभाव गम्भीर बन्दै गएको छ । सातामा दुई दिन सार्वजनिक बिदा लागू भएसँगै चौबिसै घण्टा सञ्चालन हुने सरकारी अस्पतालहरूमा सेवा व्यवस्थापन थप जटिल बनेको अस्पताल प्रशासनले जनाएको छ । अपर्याप्त जनशक्ति, न्यून भत्ता र विभेदपूर्ण व्यवहारका कारण नर्सहरू निरुत्साहित हुँदै गएको गुनासो गरिएको छ ।
सरकारी अस्पतालकी एक नर्सिङ प्रमुखका अनुसार इन्डोर, इमर्जेन्सी र आईसीयूजस्ता सेवा बिदाका दिन पनि निरन्तर सञ्चालन गर्नुपर्ने भएकाले ड्युटी मिलाउन कठिन भइरहेको छ । बिदा दिँदा सिफ्ट व्यवस्थापनमा समस्या हुने र नदिँदा कर्मचारीको अधिकार हनन भएको आरोप आउने अवस्था रहेको उनको भनाइ छ । उनका अनुसार अधिकांश सरकारी अस्पतालहरू न्यून दरबन्दीमै सञ्चालन भइरहेका छन् भने बिरामी र नर्सको अनुपात पनि मापदण्डअनुसार छैन ।
नर्सहरूले चिकित्सक र नर्सबीच रात्रिकालीन भत्तामा ठूलो विभेद रहेको गुनासो गरेका छन् । एउटै अस्पतालमा चिकित्सकले राति ड्युटी गरेबापत ५५० रुपैयाँदेखि १२ सय रुपैयाँसम्म भत्ता पाउँदा नर्सहरूले भने १३ घण्टासम्म काम गर्दा केवल १२७ रुपैयाँ मात्रै पाउने गरेका छन् । नाइट ड्युटीको भत्ताले सामान्य खाजा खर्चसमेत नधान्ने भएकाले कर्मचारीहरू रात्री सिफ्टमा काम गर्न अनिच्छुक बन्न थालेको उनीहरूको भनाइ छ ।
रात्रिकालीन ड्युटीले नर्सहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको पनि बताइएको छ । लगातार नाइट सिफ्ट गर्दा निद्रा, मानसिक स्वास्थ्य र शारीरिक क्षमतामा असर पर्ने तथा मानसिक तनावका कारण उपचार प्रक्रियामा त्रुटिको जोखिम बढ्ने नर्सिङ प्रशासनको भनाइ छ ।
कामको अत्यधिक चाप, न्यून सुविधा र भविष्यप्रतिको असुरक्षाका कारण दक्ष नर्सहरू विदेशिने क्रम पनि तीव्र बन्दै गएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालहरूले नयाँ कर्मचारी ल्याएर तालिम दिए पनि केही समयमै उनीहरू विदेशिने प्रवृत्ति बढेको गुनासो गरिएको छ ।
नर्सिङ प्रशासनले सेवाको चापअनुसार दरबन्दी थप गर्न, बिदाका दिन काम गरेबापत अतिरिक्त भुक्तानीको व्यवस्था गर्न तथा रात्रिकालीन भत्ता वृद्धि गर्न सरकारसँग माग गरेको छ । समयमै सुधारका कदम नचालिए सरकारी अस्पतालको नर्सिङ सेवा थप संकटमा पर्ने चेतावनीसमेत दिइएको छ ।