काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले आगामी असार ७, ८ र ९ गते चितवनमा पार्टीको पहिलो महाधिवेशन गर्ने निर्णय गर्दै त्यसको तयारीका लागि मूल आयोजक समिति बनाएको हो ।
पार्टीका अनुसार केन्द्रीय समितिका सबै सदस्यहरू नै महाधिवेशन मूल आयोजक समितिमा रहनेछन् । महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमितिसमेत गठन गरिएको रास्वपाले जनाएको छ ।
रास्वपाले महाधिवेशन लक्षित गर्दै संगठन विस्तार तथा अधिवेशनको कार्यतालिका पनि सार्वजनिक गरेको छ । वडा समिति गठन नभएका स्थानहरूमा जेठ २ गते भेला आयोजना गरिनेछ भने वैशाख २० गतेअघि गठन भएका वडा समितिहरूको अधिवेशन जेठ ३ गते गर्ने निर्णय भएको छ ।
त्यसैगरी पालिका तहका भेला तथा अधिवेशनहरू पनि चरणबद्ध रूपमा जेठ महिनाभित्र सम्पन्न गरिने जनाइएको छ । पार्टीले संगठन विस्तार, प्रतिनिधि छनोट र नेतृत्व संरचनालाई व्यवस्थित बनाउन तीव्र गतिमा तयारी अघि बढाएको बताएको छ ।
संशोधित विधानअनुसार रास्वपाको केन्द्रीय समिति १२९ सदस्यीय बनाइने तयारी छ । महाधिवेशनमार्फत केन्द्रीयदेखि वडा तहसम्म नयाँ नेतृत्व चयन गर्ने योजना पार्टीको छ । रास्वपाले यस महाधिवेशनलाई संगठन सुदृढीकरण, नेतृत्व चयन र आगामी राजनीतिक रणनीति तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ ।