प्रधानमन्त्री नआए हाम्रो पार्टी सदन छाड्छ : हर्क साम्पाङ

2.8k Shares

काठमाडौं । प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री उपस्थित नभए आफ्नो पार्टी संसद् बैठकबाट बाहिरिने चेतावनी दिएका हुन् ।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै साम्पाङले प्रधानमन्त्री आफैं उपस्थित भएर सांसदहरूको जिज्ञासाको उत्तर दिनुपर्ने बताए । उनले प्रधानमन्त्रीको अनुपस्थितिमा अन्य मन्त्रीले दिएको जवाफ स्वीकार्य नहुने अडान राखे ।

साम्पाङले “आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन” भन्दै प्रधानमन्त्रीले नै संसद्मा आएर जवाफ दिनुपर्ने टिप्पणी गरे । उनले जनप्रतिनिधिहरूले उठाएका विषयमा सरकार प्रमुख स्वयं जिम्मेवार बन्नुपर्ने धारणा राखे ।

उनले प्रधानमन्त्री संसद्मा उपस्थित नभए श्रम संस्कृति पार्टीले बैठक बहिष्कार गर्ने चेतावनी पनि दिए । “हामीले अरूबाट सुन्नुपर्ने स्थिति होइन,” भन्दै उनले सरकार संसद्प्रति जवाफदेही हुनुपर्ने बताए ।

पछिल्लो समय संसद्मा सरकारको नीति, कार्यशैली र प्रधानमन्त्रीको भूमिकालाई लिएर विपक्षी तथा साना दलका सांसदहरूले निरन्तर प्रश्न उठाइरहेका छन् । साम्पाङले यसअघि पनि सरकारको कार्यशैली, अध्यादेश, सीमा सुरक्षा तथा विकास निर्माणसँग सम्बन्धित विषयमा आलोचना गर्दै आएका छन् ।

 
 
 
सम्बन्धित समाचार