ग्रिस र यूएई पठाइदिने भन्दै २६ लाख ठगी, दुई जना पक्राउ

5.5k Shares

काठमाडौं । वैदेशिक रोजगारीका लागि ग्रिस र यूएई पठाइदिने प्रलोभन देखाएर २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली र पर्वत कुश्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका छन् । कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पराजुलीले ग्रिस पठाइदिने भन्दै २३ लाख रुपैयाँ तथा बाँस्तोलाले यूएई पठाइदिने भन्दै तीन लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएको उजुरीपछि पक्राउ गरिएको हो ।

प्रहरीले दुवै जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको जनाएको छ । पक्राउपछि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि उनीहरूलाई वैदेशिक रोजगार विभाग पठाइएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारका नाममा ठगीका घटना बढ्दै गएको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । आकर्षक तलब, छिटो विदेश पठाइदिने आश्वासन तथा अनधिकृत व्यक्तिको प्रलोभनमा नपर्न र आधिकारिक प्रक्रिया तथा अनुमति प्राप्त म्यानपावर कम्पनीमार्फत मात्रै विदेश जान प्रहरीले सुझाव दिएको छ ।

साथै कुनै व्यक्ति वा संस्थाबाट ठगी भएको आशंका लागेमा तत्काल प्रहरी वा सम्बन्धित निकायमा उजुरी दिन पनि आग्रह गरिएको छ ।

सम्बन्धित समाचार