प्रधानमन्त्री बालेनको राजीनामा माग्दै हर्क साम्पाङ, ‘संसदको अपमान गरेको’ आरोप

1.6k Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै सांसद साम्पाङले प्रधानमन्त्री शाह संसदीय अभ्यासप्रति गैरजिम्मेवार बनेको र संसदको अपमान गरेको आरोप लगाएका हुन् ।

साम्पाङले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री शाह सदनबाट बाहिरिएको, त्यसपछि भएको छलफलमा पनि अनुपस्थित रहेको र संसद नआइ नजिकैको कार्यालयबाट ‘लाइभ’ हेरेर बसेको आरोप लगाएका छन् । उनले यसलाई संसदीय परम्परामाथिको बेवास्ता र लोकतान्त्रिक अभ्यासमाथिको अपमान भएको बताएका छन् ।

विज्ञप्तिमा “जनताको सार्वभौम सदनलाई अपमान गर्ने व्यक्ति कुन नैतिकताको आधारमा प्रधानमन्त्री पदमा बसिरहेको छ ?” भन्दै प्रश्न उठाइएको छ । साम्पाङले कर्तव्य पूरा गर्न नसक्ने व्यक्तिले नैतिकताको आधारमा पदबाट हट्नुपर्ने उल्लेख गरेका छन् ।

उनले सरकारले संसदलाई छल्दै अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप समेत लगाएका छन् । न्यूनतम संसदीय जिम्मेवारीसमेत पूरा गर्न नसक्ने प्रवृत्तिले लोकतान्त्रिक प्रणाली कमजोर बन्ने चेतावनी पनि उनले दिएका छन् ।

प्रधानमन्त्री शाहको संसद बैठकमा अनुपस्थितिलाई लिएर पछिल्ला दिनमा सत्ता र विपक्षी वृत्तमा आलोचना बढिरहेका बेला साम्पाङको यो अभिव्यक्ति सार्वजनिक भएको हो ।

सम्बन्धित समाचार