नेकपा एमालेले फागुन २१ को निर्वाचनमा ऐतिहासिक हार व्यहोरेपछि पहिलो पटक सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था पूर्ण रूपमा सुधार नभएकाले लामो समय बैठक सञ्चालन गर्न नसक्ने अवस्था रहेको नेताहरूले बताएका छन्।
शनिबार बस्ने सचिवालय बैठकमा निर्वाचन समीक्षाका लागि कार्यदल गठन गर्ने तयारी गरिएको एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन्। पार्टीभित्र ओलीले नेतृत्व छाड्नुपर्ने दबाब बढे पनि तत्काल नेतृत्व परिवर्तनबारे छलफल नहुने संकेत नेताहरूले दिएका छन्।
ओली हाल पनि पित्तथैलीको शल्यक्रियापछि भएको संक्रमणका कारण पूर्ण रूपमा सक्रिय हुन सकेका छैनन्। स्वास्थ्य समस्याका कारण उनी गुण्डुस्थित निवासमै सीमित छन्। सचिवालय बैठकमा सुरुवाती एजेन्डा प्रस्तुत गरेर उनी बाहिरिने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ।
एमालेभित्र विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराईलगायत नेताहरू ओलीको विकल्प खोज्ने पक्षमा देखिए पनि उनीहरूबीच अझै स्पष्ट एकता बन्न सकेको छैन। नेतृत्व परिवर्तनभन्दा पहिले निर्वाचनको गम्भीर समीक्षा आवश्यक रहेको नेताहरूको धारणा छ।
महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलबीच पछिल्लो समय संवाद बढेको चर्चा पनि एमालेभित्र चलिरहेको छ। ओलीले हिरासतमा रहँदा कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई दिएपछि विष्णु पौडेल असन्तुष्ट बनेको चर्चा छ।
वामपन्थी विश्लेषक श्याम श्रेष्ठले एमालेलगायत पुराना दल समयअनुकूल परिवर्तन नभए जनताबाट थप अस्वीकृत हुने चेतावनी दिएका छन्। उनले नयाँ पुस्ताको भावना समेट्न नसके पार्टी झन् कमजोर बन्ने बताएका छन्।