आजको मौसम : धेरै प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्न सक्ने

2.2k Shares

काठमाडौं । देशभर अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेकाले विभिन्न प्रदेशमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा पानी परिरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ।

त्यस्तै, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। मधेश र कोशीका तराई क्षेत्रमा हुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही भूभागमा तापक्रम बढ्न सक्ने सम्भावना पनि रहेको छ। राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य धेरै स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

सम्बन्धित समाचार