ग्रामीण स्वास्थ्य शिविरमा पाठेघर क्यान्सरका शङ्कास्पद बिरामी भेटिए

1.8k Shares

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा आयोजित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २४५ जना स्थानीय नागरिक लाभान्वित भएका छन्। वडा कार्यालयको आयोजनामा सम्पन्न शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण, उपचार, परामर्श, औषधि वितरण तथा रगत परीक्षण सेवा प्रदान गरिएको थियो।

शिविरमा उपचारका लागि आउनेमध्ये अधिकांश महिला रहेको जनाइएको छ। आधारभूत स्वास्थ्यचौकी वन समितिका प्रमुख हरिनाथका अनुसार ७८ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गर्दा सात जनामा शङ्कास्पद लक्षण भेटिएको छ। साथै १०२ जनाको उच्च रक्तचाप र ११० जनाको मधुमेह परीक्षण गरिएकोमा ३५ जनामा उच्च रक्तचापको समस्या देखिएको बताइएको छ।

त्यसैगरी, तल्लो पेट दुख्ने समस्या लिएर आएका दुई महिलामा पाठेघर खसेको समस्या पनि फेला परेको जनाइएको छ। शिविरमा स्त्रीरोग, दमखोकी, सुगर, उच्च रक्तचाप तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी सेवा उपलब्ध गराइएको थियो।

वडाध्यक्ष चक्रबहादुर खडकाले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने उद्देश्यले यस्ता शिविर सञ्चालन गरिएको बताए। उनले समयमै परीक्षण र उपचारको पहुँच विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी बन्दै गएको उल्लेख गरे।

 
 
सम्बन्धित समाचार