कांग्रेसभित्र फुटको हल्ला अनावश्यक : वीरबहादुर बलायर
2k
Shares
धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले पार्टीलाई एकताबद्ध बनाएर अघि लैजाने जिम्मेवारी नेतृत्वको काँधमा रहेको बताएका छन् ।
प्रदेश समितिले १० जेठमा धनगढीमा आयोजना गर्न लागेको ‘पार्टीको वृहत् एकता र पुनर्जागरण’ भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै बलायरले कांग्रेसलाई एकताबद्ध गर्ने मुख्य जिम्मा सभापति गगनकुमार थापाको भएको बताए ।
उनले नेतृत्व तहले पार्टी फुटाउन खोजे त्यसलाई रोक्न कठिन हुने टिप्पणी गरे । “हामी फुटका लागि जागरण भेला गरिरहेका होइनौं । यदि नेतृत्वबाटै पार्टी फुटाउने प्रयास भयो भने त्यसको कुनै औषधि हुँदैन,” बलायरले भने ।
सभापति थापाले सिंगो कांग्रेसको नेतृत्व गर्ने चाहना राखे पार्टी फुटको अवस्थामा नपुग्ने उनको दाबी थियो । साथै, प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई मत नदिएका केही व्यक्तिहरूले पार्टी फुटको हल्ला फैलाइरहेको आरोप पनि उनले लगाए ।
बलायरले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र नेताहरूलाई अपमानजनक व्यवहार गर्न नहुने बताए । “हामीले पुराना नेताहरूलाई स्थापित गर्नुपर्छ भनेका होइनौं, तर नेतृत्व गरेका व्यक्तिहरूको मानमर्दन हुनुहुँदैन,” उनले भने ।
उनका अनुसार १५औँ महाधिवेशनलाई सफल बनाउन कांग्रेसभित्र एकता आवश्यक छ । उनले निवर्तमान सभापति शेरबहादुर देउवा समूहले काठमाडौंमा खोलेको सम्पर्क कार्यालयलाई पार्टी फुटसँग जोडेर नहेर्न आग्रह गरे ।
बलायरले प्रदेशस्तरीय भेलामा कांग्रेसलाई आगामी दिनमा कसरी अघि बढाउने, नेतृत्वलाई के–कस्ता सुझाव दिने र पार्टी पुनर्गठन कसरी गर्ने भन्ने विषयमा छलफल हुने जानकारी दिए । उनले उक्त भेलालाई गुटगत कार्यक्रमको रूपमा नबुझ्न आग्रह गर्दै देउवा पनि कांग्रेसलाई एकताबद्ध राख्ने पक्षमै रहेको दाबी गरे ।