काठमाडौं । व्यवसायी मिनबहादुर गुरुङ ले पार्टी कार्यालय निर्माणका लागि दिएको जग्गा प्रस्तावलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘धन्यवादसहित फिर्ता’ गर्ने तयारी गरेको छ । पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भएपछि एमाले नेतृत्व पछि हट्न बाध्य भएको हो ।
ललिता निवास प्रकरणमा जोडिएका व्यवसायीसँग पार्टीको नाम जोडिन थालेपछि एमालेमाथि नैतिक प्रश्न उठेको थियो । त्यसपछि पार्टीले उक्त प्रस्ताव औपचारिक रूपमा स्वीकार नगर्ने संकेत दिएको हो । ललिता निवास जग्गा प्रकरण सँग जोडिएको विषय फेरि चर्चामा आएपछि एमाले नेतृत्व दबाबमा परेको बताइएको छ ।
पार्टीका नेताहरूले सार्वजनिक रूपमा भने सहयोग र दानलाई गलत रूपमा व्याख्या गरिएको बताएका छन् । तर विपक्षी दल र सामाजिक सञ्जालमा बढ्दो आलोचनापछि एमालेले ‘राजनीतिक क्षति कम गर्ने’ रणनीतिअन्तर्गत प्रस्ताव फिर्ता गर्ने निष्कर्ष निकालेको जनाइएको छ ।