काठमाडौं । हुम्ला र बाजुराको सिमानामा पर्ने लाम्पाटा च्याचौर क्षेत्रमा देखिएको सीमा विवादले स्थानीय तहमा तनाव बढ्न थालेपछि कर्णाली प्रदेश सरकारले संघीय सरकारको ध्यानाकर्षण गराएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रधानमन्त्री वालेन्द्र शाहलाई पत्र पठाउँदै सीमा विवादका कारण स्थानीय नागरिकबीच द्वन्द्व सिर्जना भएको र त्यसले शान्ति सुरक्षासँगै दैनिक जनजीवनमा समेत असर पारेको बताएका हुन् ।
मुख्यमन्त्री कँडेलले पछिल्ला केही दिनयता विवाद थप संवेदनशील बन्दै गएको उल्लेख गर्दै समयमै समाधान खोज्न नसके अवस्था अझ जटिल बन्न सक्ने चेतावनी दिएका छन् । उनले दुई जिल्लाबीचको सीमा निर्धारण र प्रशासनिक अधिकार क्षेत्रलाई लिएर उत्पन्न विवादले स्थानीयवासीमा अन्योल र असन्तुष्टि बढाएको जनाएका छन् ।
पत्रमा उनले संघीय सरकारले तत्काल आवश्यक पहल गरी विवाद समाधानका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन् । साथै, सम्भावित थप क्षति रोक्न सुरक्षा निकाय र सम्बन्धित प्रशासनलाई सजग बनाउन पनि आग्रह गरिएको छ ।
लाम्पाटा च्याचौर क्षेत्रमा देखिएको विवाद समाधान हुन नसके स्थानीयस्तरमा सामाजिक तथा प्रशासनिक समस्या थप बढ्न सक्ने भन्दै प्रदेश सरकारले केन्द्र सरकारको सक्रिय हस्तक्षेप आवश्यक रहेको बताएको छ ।