सरकारका गतिविधिविरुद्ध सदन र सडक दुवैबाट विरोध तथा अभियान सञ्चालन गरिने: पोखरेल

3k Shares

रूपन्देही । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार लोकतान्त्रिक मूल्य–मान्यताबाट विचलित हुँदै स्वेच्छाचारी र अधिनायकवादी अभ्यासतर्फ उन्मुख भएको आरोप लगाएका छन्।

पार्टी सचिवालयका निर्णय सार्वजनिक गर्दै उनले सरकारले आफ्ना राजनीतिक प्रतिस्पर्धीमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको, संसद्लाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गरेको र लोकतान्त्रिक संस्थाहरू कमजोर बनाएको दाबी गरे।

पोखरेलका अनुसार सरकारले बिना अभियोग लामो समय हिरासतमा राख्ने, विद्यार्थी तथा पेशागत संगठनमाथि प्रतिबन्ध लगाउने, सुकुम्बासीको उचित व्यवस्थापन बिना विस्थापन गर्ने र नागरिकमाथि दमनकारी व्यवहार गर्ने काम गरेको छ।

त्यसैगरी महँगी नियन्त्रणमा असफलता, भन्सार नाकामा नागरिकमाथि दुर्व्यवहार, न्यायपालिकामा हस्तक्षेप तथा प्रधानमन्त्रीको संसदीय अनुपस्थितिलाई उनले गम्भीर लोकतान्त्रिक संकटको संकेतका रूपमा व्याख्या गरेका छन्।

उनले सरकारका गतिविधिविरुद्ध आवश्यक परे सदन र सडक दुवैबाट विरोध तथा अभियान सञ्चालन गरिने चेतावनीसमेत दिएका छन्।

सम्बन्धित समाचार