बाजुरा । बुढीनन्दा नगरपालिका–७ शेरकाटिया क्षेत्रमा रहेको दारिमचौर सिँचाइ सुविधाको अभावमा वर्षौंदेखि बाँझै रहँदै आएको छ । स्थानीयवासीका अनुसार यो जमिन खेतीका लागि अत्यन्त उर्वर भए पनि पुस्तौँदेखि सिँचाइ सुविधा नहुँदा उपयोगविहीन बनेको हो ।
स्थानीय हर्क लुहारले सिँचाइ अभावका कारण दारिमचौर लामो समयदेखि बाँझो रहँदै आएको बताउनुभयो । “जमिन छ, तर खेती गर्न सकिएको छैन,” उहाँले भन्नुभयो, “सिँचाइ सुविधा भएको भए यहीँ तरकारी तथा फलफूल खेती गरेर परिवार चलाउन सकिन्थ्यो ।”
उहाँका अनुसार सिँचाइको व्यवस्था नहुँदा यो उर्वर जमिन वर्षौंदेखि उपयोगविहीन रहँदै आएको छ । सम्बन्धित निकायले ध्यान नदिँदा समस्या अझै समाधान हुन नसकेको उहाँको भनाइ छ ।
स्थानीय अर्का कृषक सब्बले सार्कीले दारिमचौर बुढीनन्दाकै उर्वर जमिनमध्ये एक भएको बताउनुभयो । उहाँका अनुसार यहाँ धान, गहुँ, कोदो, सिमी मात्र होइन, सुन्तला, कागती, अमिलो, ओखर र स्याउजस्ता फलफूल पनि राम्रो उत्पादन हुन सक्छ ।
“मैले वर्षाको पानीको भरमा केही तरकारी र फलफूल खेती गर्दै आएको छु,” उहाँले भन्नुभयो, “तर सिँचाइ नहुँदा रोपिएका बिरुवा सुक्ने समस्या छ ।” आफ्नै जमिनमा केही उत्पादन गर्ने उद्देश्यले सुरु गरिएको खेती पनि सिँचाइ अभावका कारण प्रभावित भएको उहाँले बताउनुभयो ।
स्थानीयका अनुसार दारिमचौर खेतीयोग्य जमिन हो, जहाँ अन्नबालीदेखि तरकारीसम्म राम्रो उत्पादन गर्न सकिन्छ । सिँचाइ सुविधा भएमा यहाँका करिब दुई सय परिवारलाई बाहिर रोजगारीका लागि जानु नपर्ने उनीहरूको भनाइ छ ।
बुढीनन्दा नगरपालिका–७ का वडाध्यक्ष अशोक दानीले दारिमचौरमा सिँचाइ सुविधा विस्तारका लागि सम्बन्धित निकायमा पहल भइरहेको बताउनुभयो । कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार जिल्लामा करिब २ लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये वर्षभरि सिँचाइ सुविधा पुग्ने क्षेत्र निकै सीमित छ ।
उहाँका अनुसार करिब ५ हजार २ सय ३५ हेक्टर जमिनमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ । बाँकी जमिनमा आकाशे पानीकै भरमा खेती गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।