काठमाडौं । श्रम संस्कृति पार्टी का संसदीय दलका नेता हर्कराज राईले सभामुखसमक्ष प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउने वा आफूलाई सदनबाट निष्कासन गर्ने दुईमध्ये एक निर्णय लिन आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै बोल्दै राईले संसदमा निरन्तर माग भइरहँदा पनि प्रधानमन्त्रीलाई उपस्थित गराउन सभामुखले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउनुभयो। उहाँले नियमावलीअनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराई जवाफदेही बनाउन नसक्ने हो भने आफूलाई नै निष्कासन गरेर संसदको गरिमा जोगाउन आग्रह गर्नुभयो।
“प्रधानमन्त्रीलाई सदनमा ल्याउने वा मलाई निष्कासन गर्ने दुईमध्ये एक काम गरिदिनुस्, नत्र संसदको गरिमा कायम रहँदैन,” राईले भन्नुभयो।
जवाफमा सभामुख डोलप्रसाद अर्याल ले मंगलबारकै बैठकमा प्रधानमन्त्रीबारे जानकारी गराइसकेको बताउनुभयो। उहाँले कसलाई रुलिङ गर्ने वा नगर्ने भन्ने विषय सभामुखको अधिकार क्षेत्रभित्र पर्ने उल्लेख गर्दै संविधान, कानुन र नियमावलीअनुसार निर्णय लिने जिम्मेवारी सभामुखकै हुने स्पष्ट पार्नुभयो।
सभामुख अर्यालले प्रधानमन्त्री संसदमा आएर बोल्ने अभ्यास रहेको जानकारी दिँदै यस विषयमा थप विवाद नगर्न आग्रह गर्नुभयो। यद्यपि मंगलबारको बैठकमा प्रधानमन्त्रीलाई अनिवार्य रूपमा सदनमा उपस्थित हुन रुलिङ भने गरिएको थिएन।