कर्णाली । कर्णाली प्रदेश अस्पतालले सार्वजनिक बिदाका दिनमा पनि ओपीडी सेवा नियमित सञ्चालन गर्ने भएको छ। अस्पतालले गृह मन्त्रालयको राजपत्रमा प्रकाशित सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थाअनुसार बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने जनाएको हो।
अस्पतालकी सूचना अधिकारी अनिता ज्ञवालीका अनुसार गणतन्त्र दिवस, राष्ट्रिय धान दिवस, साउने संक्रान्ति, प्रदेश स्थापना तथा सहिद दिवस, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, धान्य पूर्णिमा, क्रिसमस डे, तमु ल्होछार, पृथ्वी जयन्ती, माघे संक्रान्ति, प्रजातन्त्र दिवस, नारी दिवस र ग्याल्पो ल्होसारलगायतका सार्वजनिक बिदामा ओपीडी सेवा नियमित रहनेछ।
त्यसैगरी, इद उल फित्र र बकर इदका बिदामा पनि अस्पतालको सेवा सञ्चालन हुने बताइएको छ।
सूचना अधिकारी ज्ञवालीका अनुसार शनिबार र आइतबारको नियमित बिदाका कारण सेवाग्राहीको चाप बढ्ने भएकाले ती दुई दिनबाहेक अन्य सार्वजनिक बिदामा पनि सेवा निरन्तर राखेर बिरामीलाई सहज पहुँच सुनिश्चित गर्न लागिएको हो।
यस निर्णयसँगै बिदाका दिन उपचार नपाउने समस्या केही हदसम्म समाधान हुने अपेक्षा गरिएको छ।