काठमाडौं । नेपाल भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले आफ्नो विभिन्न मागहरू समेट्दै देशका प्रमुख राजनीतिक दलहरूलाई ज्ञापनपत्र बुझाएको छ ।
समितिले देशभर रहेका भुमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दीर्घकालीन समस्या समाधानका लागि सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको जनाएको छ ।
ज्ञापनपत्रमा भूमि अधिकार सुनिश्चितता, व्यवस्थित बसोबासको व्यवस्था, दीर्घकालीन पुनर्वास योजना, तथा सुकुम्बासी बस्तीहरूको उचित व्यवस्थापनलगायत विषयलाई प्राथमिकतामा राखिएको छ ।
समितिका प्रतिनिधिहरूले राजनीतिक दलका कार्यालयमा पुगेर समस्या समाधानमा तत्काल पहल गर्न आग्रह गरेका छन् । उनीहरूले दशकौँदेखि बसोबास गर्दै आएका नागरिकहरू अझै पनि जग्गा र आवासको अधिकारबाट वञ्चित रहनु गम्भीर सामाजिक समस्या भएको बताएका छन् ।
समितिले राज्यले स्पष्ट नीति बनाएर भुमिहीन तथा अव्यवस्थित बसोबासीहरूको समस्या स्थायी रूपमा समाधान नगरेसम्म आन्दोलन तथा दबाबका कार्यक्रम जारी रहने चेतावनीसमेत दिएको छ ।
ज्ञापनपत्र बुझाएपछि समितिका प्रतिनिधिहरूले सबै राजनीतिक दलहरूलाई साझा सहमति बनाएर समस्या समाधान गर्न आग्रह गरेका छन् ।