गणतन्त्रको रक्षा र समृद्ध नेपाल निर्माणमा एकजुट हुन प्रचण्डको आह्वान

1.1k Shares

काठमाडौँ ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस–२०८३ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्न सबै राजनीतिक शक्ति र नागरिक एकजुट हुनुपर्ने बताएका छन् ।

उनले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, हजारौं सहिदको बलिदान र त्यागबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका छन् ।

गणतन्त्र कुनै दल वा व्यक्तिको नभई सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि भएकाले यसको मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्न नहुने उनले बताएका छन् ।

शुभकामना सन्देशमा प्रचण्डले संविधान कार्यान्वयनमा देखिएका कमजोरी सुधार गर्दै राज्य सञ्चालनमा रहेको परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई थप सुदृढ बनाउँदै अघि बढ्नु नै गणतन्त्रप्रतिको वास्तविक सम्मान हुने उनको भनाइ छ ।

“गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो,” भन्दै उनले समावेशी तथा पूर्ण समानुपातिक व्यवस्था सुनिश्चित गर्दै उत्पीडित, उपेक्षित वर्ग र समुदायका अधिकार थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्।

प्रचण्डले राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि सबै राजनीतिक शक्ति तथा नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्। समाजवादी नेपाल निर्माणलाई साझा राष्ट्रिय संकल्पका रूपमा अघि बढाउनुपर्ने उनको धारणा छ।

prachand.jpg

सम्बन्धित समाचार