प्रजा बाट नागरिकमा रूपान्तरण भएको ऐतिहासिक उपलब्धिः ओली

1k Shares

काठमाडौँ । केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै गणतन्त्रलाई नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरणको रूपमा व्याख्या गरेका छन्। उनले गणतन्त्र शासन प्रणाली परिवर्तन मात्र नभई “प्रजा” बाट सार्वभौम नागरिकमा रूपान्तरण भएको ऐतिहासिक उपलब्धि भएको बताएका छन्।

१८ वर्षअघि संविधानसभामार्फत गणतन्त्र घोषणा भएको स्मरण गर्दै उनले जनताले आफ्नो शासन प्रणाली आफैं निर्धारण गर्ने अधिकार प्राप्त गर्न लामो संघर्ष र बलिदान गर्नुपरेको उल्लेख गरे।

ओलीले हजारौं सहिद, अग्रजको योगदान र लोकतान्त्रिक अधिकारका लागि गरिएको संघर्षप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले गणतन्त्रको अभ्यास छोटो भए पनि यस अवधिमा सामाजिक, भौतिक विकास तथा समावेशी प्रतिनिधित्वमा उल्लेखनीय प्रगति भएको बताएका छन्।

उनका अनुसार स्थानीय सरकारको विस्तार, महिला, दलित, जनजाति, मधेशी तथा पिछडिएका समुदायको सहभागिता, अभिव्यक्ति स्वतन्त्रता र डिजिटल सेवाको विस्तार गणतन्त्रका महत्वपूर्ण उपलब्धि हुन्।

तर उनले लोकतान्त्रिक संस्थाहरू कमजोर पार्ने, जनताको निराशालाई उपयोग गर्ने र प्रणालीप्रति अविश्वास फैलाउने प्रवृत्तिबाट सचेत रहनुपर्ने चेतावनी दिएका छन्। संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसको रक्षा नै गणतन्त्रको रक्षा भएको उनको भनाइ छ।

ओलीले लोकतान्त्रिक प्रणाली कमजोर भएमा अधिनायकवाद बढ्ने जोखिम रहने भन्दै सबैलाई संयमता र गहिरो चिन्तनसहित गणतन्त्र दिवस मनाउन आग्रह गरेका छन्।

सम्बन्धित समाचार