फिलिपिन्समा पक्राउ परेका ६४ चिनियाँ नागरिक रिहा

2.4k Shares

फिलिपिन्स । फिलिपिन्स मा हिरासतमा रहेका ६४ जना चिनियाँ नागरिकलाई बिहीबार रिहा गरिएको फिलिपिन्सस्थित चिनियाँ दूतावास ले जनाएको छ । दूतावासका अनुसार अन्य छ जनाको रिहाइ प्रक्रिया पनि जारी रहेको छ ।

दक्षिणी फिलिपिन्सको मिसामिस ओरिएन्टल प्रान्तस्थित एक स्टिल प्लान्टमा कार्यरत ती चिनियाँ नागरिकलाई मे १५ मा फिलिपिन्सका कानून कार्यान्वयन निकायले नियन्त्रणमा लिएको थियो ।

दूतावासले जारी गरेको विज्ञप्तिअनुसार फिलिपिन्सको अदालतले ती नागरिकमाथि आणविक सुरक्षा ऐन, अध्यागमन ऐन तथा श्रम संहिताको उल्लङ्घन गरेको पुष्टि हुने पर्याप्त प्रमाण नभएको ठहर गर्दै रिहा गर्न आदेश दिएको हो ।

चिनियाँ दूतावासले घटनालाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै फिलिपिन्सका सम्बन्धित निकायसँग निष्पक्ष, शीघ्र र कानुनी समाधानको माग गरेको जनाएको छ ।

साथै फिलिपिन्समा रहेका चिनियाँ नागरिक तथा संस्थाको अधिकार र सुरक्षाको रक्षा गर्न आफू प्रतिबद्ध रहेको पनि दूतावासले स्पष्ट पारेको छ । दूतावासले सम्बन्धित सबै पक्षलाई स्थानीय कानून तथा नियमको पूर्ण पालना गर्न आग्रहसमेत गरेको छ । रासस/सिन्ह्वा

 
 
सम्बन्धित समाचार