काठमाडौँ । सामाजिक सञ्जालमार्फत धार्मिक भावनामा आघात पुग्ने तथा धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार “मठ–मन्दिरमा आगो लाइदिन्छौं” जस्ता विवादित अभिव्यक्ति सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अनुसन्धान अघि बढाइएको हो ।
पक्राउ पर्ने व्यक्ति रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१२ घर भई हाल काठमाडौँको टोखा नगरपालिका–८ बानियाँटारमा बस्दै आएका २७ वर्षीय जनक परियार हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
परियार भदौ २०८२ को आन्दोलनपछि गठित जेन–जी युनाइटेडका संयोजक समेत रहेको बताइएको छ । यसअघि उनले विभिन्न माग राख्दै सरकारी निकायसँग भेटघाट तथा ज्ञापनपत्र बुझाउने गरेका थिए । तर पछिल्लो समय सामाजिक सञ्जालमा उनले दिएको अभिव्यक्ति विवादास्पद बनेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि देखिएकाले उनलाई पक्राउ गरिएको हो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।