काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही ले कर्णाली प्रदेशले यस पटकको बजेटमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालको तुलनामा कम बजेट पाएको बताएका छन् ।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा उनले कर्णालीलाई लगातार उपेक्षा गरिएको आरोप लगाउँदै बजेट वितरणमा विभेद भएको टिप्पणी गरेका हुन् ।
शाहीका अनुसार दुर्गम तथा पिछडिएको क्षेत्र भएकाले कर्णालीलाई विशेष प्राथमिकतामा राखिनुपर्ने भए पनि बजेट विनियोजन अपेक्षाकृत कम भएको छ । उनले संघीय सरकारले समान विकास नीति नअपनाएको भन्दै असन्तुष्टि जनाएका छन् ।
उनले कर्णालीका पूर्वाधार, रोजगारी र सामाजिक सेवामा पर्याप्त लगानी नभएको भन्दै सरकारको बजेट नीति पुनर्विचार गर्नुपर्ने सुझाव पनि दिएका छन् ।