छाम जिप दुर्घटनामा दुई मृत, घाइतेको सुर्खेतमा उपचार

449 Shares

काठमाडौं । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सत्लोक आश्रम, जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका–५ का ४५ वर्षीय रामप्रकाश थारूको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।

घटनामा सिराहाको कल्याणपुर नगरपालिका–१० का २७ वर्षीय सन्तकुमार साह, स्याङ्जाको फेदीखोला गाउँपालिका–४ का अर्जुनकुमार पौडेल तथा चालक नेपालगञ्ज उपमहानगरपालिका–५ का चट्टान गुप्ता घाइते भएका छन्। उनीहरूको उपचार जारी छ।

दुर्घटनापछि बेलखेतबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पताल पुर्‍याएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि उनीहरूलाई सुर्खेत रेफर गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार