विश्वभर सुर्तीजन्य पदार्थविरुद्ध सचेतना दिवस मनाइँदै

1.7k Shares

काठमाडौँ । विश्वभर विश्व सुर्तीजन्य पदार्थविरुद्ध दिवस विभिन्न चेतनामूलक कार्यक्रमसहित मनाइँदैछ । हरेक वर्ष मे ३१ मा मनाइने यस दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यापारिक रणनीति तथा रोकथामका उपायबारे जनचेतना फैलाउनु हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) सदस्य राष्ट्रहरूले सन् १९८७ मा सुर्तीजन्य पदार्थको महामारी तथा यसबाट हुने रोक्न सकिने मृत्यु र रोगप्रति ध्यानाकर्षण गराउन यो अभियान सुरु गरेका हुन् । सन् १९८८ मा विश्व स्वास्थ्य सभाले पारित गरेको प्रस्तावअनुसार सुरुमा वैशाख २४ गते (अप्रिल ७) लाई ‘विश्व धूमपानरहित दिवस’का रूपमा मनाइन्थ्यो । पछि सन् १९८८ मै पारित अर्को प्रस्तावपछि प्रत्येक वर्ष जेठ १७ गते (मे ३१) लाई विश्व सुर्तीजन्य पदार्थविरुद्ध दिवसका रूपमा मनाउन थालिएको हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर करिब ८८१ करोड ३० लाख मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्छन् । तीमध्ये अधिकांश न्यून तथा मध्यम आय भएका देशमा बसोबास गर्छन् । सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ, जसमा करिब १२ लाख जना निष्क्रिय धूमपान (सेकेन्ड ह्यान्ड स्मोक) का कारण प्रभावित हुने गरेका छन् ।

यस वर्षको दिवसको अवसरमा विश्व स्वास्थ्य सङ्गठनले सरकारहरूलाई नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ । संस्थाका अनुसार स्वादयुक्त ई–सिगरेट, निकोटिन पाउच तथा अन्य निकोटिनजन्य उत्पादनमार्फत किशोर तथा युवालाई लक्षित गरी व्यापार विस्तार भइरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरूका अनुसार सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरू र विज्ञापनमार्फत यी उत्पादनहरूको प्रचार तीव्र रूपमा बढिरहेको छ । हाल विश्वका करिब १६० देशमा निकोटिन पाउचसम्बन्धी स्पष्ट कानुनी तथा नियमन व्यवस्था छैन ।

संस्थाले सरकारहरूलाई स्वादयुक्त निकोटिनजन्य उत्पादनमा प्रतिबन्ध लगाउन, विज्ञापन, प्रवर्द्धन तथा प्रायोजन रोक्न, सार्वजनिक भित्री स्थानलाई पूर्ण रूपमा धूमपान तथा भेप–मुक्त क्षेत्र घोषणा गर्न र कानुनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिँदै यदि सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न नसके भावी पुस्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने बताएको छ । रासस

 
 
सम्बन्धित समाचार