‘सिन्दुरे जात्रा’ छायांकनमा दुर्घटना, अभिनेता विजय बराल घाइते
2k
Shares
काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन क्रममा अभिनेता विजय बराल घाइते भएका छन् । घोडचढीको दृश्य खिच्ने क्रममा खसेर लड्दा उनी घाइते भएका हुन् ।
निर्देशक सरोज पौडेलका अनुसार अभिनेता बरालको दाहिने हात भाँचिएको छ । यो घटना पर्वतको कुस्मा नगरपालिका–१४ स्थित आर्थर डाँडाखर्कमा रहेको छायांकन सेटमा गत साता भएको हो ।
घाइते भएपछि उनलाई तत्काल पोखराको मेट्रो सिटी अस्पतालमा उपचारका लागि लगिएको छ र अहिले उनको उपचार जारी छ । फिल्ममा विजय बराल मुख्य भूमिकामा रहेका थिए ।
मुख्य कलाकार नै घाइते भएपछि निर्माण टोलीले हालको छायांकन स्थगित गर्दै काठमाडौं फर्किने तयारी गरेको छ । निर्देशक पौडेलका अनुसार बरालको स्वास्थ्य अवस्था सुधार भएपछि मात्र बाँकी छायांकन अगाडि बढाइनेछ ।
अहिले फिल्मको करिब ५० प्रतिशत छायांकन पूरा भइसकेको छ भने बाँकी काम असार मध्यपछि सुरु गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ ।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने मुख्य भूमिकामा छन् ।