काठमाडौं । धवलशमशेर राणा ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग हुँदै नयाँ राष्ट्रवादी अभियानको घोषणा गरेका छन्। आइतबार काठमाडौंमा असन्तुष्ट नेताहरूको भेलापछि जारी विज्ञप्तिमार्फत उनले “विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण” का लागि नयाँ यात्रा सुरु गर्ने बताएका हुन्।
राणाले विगत चार वर्ष राप्रपालाई जनभावनाअनुकूल अघि बढाउने प्रयास भए पनि सैद्धान्तिक द्विविधा र आन्तरिक विरोधाभासका कारण पार्टी सही दिशामा अघि बढ्न नसकेको उल्लेख गरेका छन्। उनले राष्ट्रवादी शक्ति तथा युवा पुस्तालाई नयाँ अभियानमा सहभागी हुन आह्वान समेत गरेका छन्।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन को कार्यशैलीप्रति लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका राणा निकट नेताहरू नयाँ राजनीतिक शक्ति निर्माणको तयारीमा रहेको बताइएको छ। राप्रपाभित्रको विवाद र नेतृत्वप्रति असन्तुष्टि पछिल्ला महिनाहरूमा झन् चर्किएको थियो।