काठमाडौं । प्रधानमन्त्री बलेन्द्र शाह (बालेन) ले संसदमा दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्ति हटाउन विपक्षी दलहरूले माग गरेका छन्। प्रधानमन्त्रीले “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्ति दिएपछि प्रमुख विपक्षी दलहरू आक्रोशित बनेका हुन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हितविपरीत, गैरजिम्मेवार र कूटनीतिक मर्यादाविपरीत रहेको जनाएको छ। कांग्रेसले संसदमा व्यक्त गरिएको यस्तो धारणा सरकारको आधिकारिक दृष्टिकोणका रूपमा बुझिने भएकाले तत्काल स्पष्टीकरण दिनुपर्ने माग गरेको छ।
आइतबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल र भारत दुवैले एकअर्काको केही भूभाग अतिक्रमण गरेको दाबी गरेका थिए। उनले सीमा समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने धारणा राखेका थिए।
प्रधानमन्त्रीको अभिव्यक्तिपछि विभिन्न राजनीतिक दल, सीमा विज्ञ तथा विद्यार्थी संगठनहरूले समेत विरोध जनाएका छन्। उनीहरूले उक्त भनाइले नेपालको स्थापित राष्ट्रिय अडान कमजोर बनाउने तर्क गर्दै अभिव्यक्ति फिर्ता लिन र संसदको अभिलेखबाट हटाउन माग गरेका छन्।
सीमा विवादका विषयमा प्रधानमन्त्रीले बेलायतसँग समेत छलफल भएको बताएका थिए। विपक्षी दलहरूले यस विषयमा समेत आपत्ति जनाउँदै नेपाल–भारत सीमा समस्याको समाधान द्विपक्षीय संवाद, ऐतिहासिक तथ्य र कूटनीतिक प्रक्रियाबाट हुनुपर्ने बताएका छन्।