वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। जिल्ला अदालत पर्साले जारी गरेको पक्राउ पुर्जीका आधारमा पर्सा प्रहरीले उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदीपराज पाठकका अनुसार मेयर सिंहलाई पर्साको ठोरी क्षेत्रमा बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो। अदालतले पक्राउ पुर्जी जारी गरेको आठ दिनपछि उनी पक्राउ परेका हुन्।
गत जेठ १२ गते जिल्ला अदालत पर्साले लिखतसम्बन्धी कसुरमा अनुसन्धान गर्न मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा अदालतले सिंहसहित तीन जनाविरुद्ध पक्राउ आदेश जारी गरेको जनाएको छ।
पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।