राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणा बीचको दूरी पछिल्ला महिनाहरूमा स्पष्ट रूपमा देखिन थालेको छ। मंसिर २०७८ को महाधिवेशनमा सफल देखिएको यो जोडी सत्तासँग जोडिएपछि टुटफुटतर्फ उन्मुख भएको विश्लेषण गरिन्छ।
२०७९ मा सरकार गठनको क्रममा राणा मन्त्री बन्न नसक्नु नै उनीहरूबीचको टकराबको मुख्य मोड बनेको देखिन्छ। त्यसपछि पार्टीभित्र गुटगत गतिविधि बढ्दै गएका छन् भने अध्यक्ष लिङ्देनले असन्तुष्ट नेताहरूमाथि कारबाहीको बाटो अपनाएका छन्। यसको परिणामस्वरूप राप्रपाभित्र दुई स्पष्ट धार देखिन थालेका छन्।
यसैबीच राणाले राजतन्त्र पक्षधर समूहहरू विशेषत दुर्गा प्रसाईंसँग सहकार्य गर्दै नयाँ राजनीतिक विकल्प खोजिरहेको संकेतले पार्टीभित्र थप तरंग ल्याएको छ। यद्यपि अध्यक्ष लिङ्देन अहिले कम क्षतिको रणनीतिमा देखिँदै राणालाई पार्टी नछोड्न आग्रह गरिरहेका छन्।
यदि राणाको बर्हिगमन भयो भने राप्रपाको संगठनात्मक शक्ति कमजोर हुन सक्ने आँकलन छ। त्यसैले लिङ्देन–राणाको टकराब पार्टीभित्र सीमित विषय मात्र नभई राप्रपाको भविष्यसँग गाँसिएको राजनीतिक प्रश्न बनेको छ।