रवि फर्किएलगत्तै दिल्ली पुगे परराष्ट्रमन्त्री खनाल

1.5k Shares

काठमाडौं, जेठ २२ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि शुक्रबार नयाँदिल्ली पुगेका छन्। भारतका विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा उनी भारत भ्रमणमा गएका हुन्।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री खनाललाई भारतका लागि नेपाली नियोगका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा तथा भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गरेका थिए।

भ्रमणका क्रममा मन्त्री खनालले भारतीय विदेशमन्त्री जयशङ्करसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। साथै, उनले विभिन्न उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाटमा पनि सहभागिता जनाउने जनाइएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल जेठ २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

यसैबीच, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि पाँचदिने भारत भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका छन्। भारत भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा. एस. जयशङ्कर, गृहमन्त्री अमित शाह तथा भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए।

रवि लामिछानेको भ्रमणपछि परराष्ट्रमन्त्री खनालको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध र कूटनीतिक संवादका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।

सम्बन्धित समाचार