दमकमा २१ वर्षीया युवतीको हत्या : भारतीय नागरिक पक्राउ, आर्थिक लेनदेनपछि विवाद भएको प्रारम्भिक अनुसन्धान

2.1k Shares

झापा । दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारीको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलनमार्फत भारत बिहारका स्थायी बासिन्दा तथा हाल दमक–५ मा बस्दै आएका ३४ वर्षीय राकेशकुमार पण्डितलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काका अनुसार घटनाको अनुसन्धानका क्रममा संकलित प्रमाण, प्राविधिक विश्लेषण तथा विभिन्न सूचनाका आधारमा पण्डितलाई पक्राउ गरिएको हो । उनी दमक तथा आसपासका क्षेत्रमा टायल्स र मार्बल जडान गर्ने काम गर्दै आएका थिए ।

प्रहरीका अनुसार मृतक तिवारी र आरोपितबीच पुरानै चिनजान रहेको तथा उनीहरूबीच नियमित भेटघाट हुने गरेको अनुसन्धानबाट खुलेको छ । घटनाको राति पनि दुवै जना सँगै रहेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा आर्थिक लेनदेन भएको र बैंकबाट रकम झिकेर कारोबारसमेत भएको देखिएको प्रहरीले जनाएको छ । त्यसपछि भएको विवादका क्रममा आरोपित पण्डितले तिवारीको घाँटी थिचेर हत्या गरेको खुल्न आएको छ ।

हत्यापछि घटनालाई लुकाउने उद्देश्यले शवलाई बोरामा पोको पारेर मोटरसाइकलमार्फत दमक–१० स्थित सेतुमारी क्षेत्रको रतुवा खोलाको पुलमुनि फालिएको अनुसन्धानबाट खुलेको छ ।

घटनामा प्रयोग भएको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ । गत जेठ १६ गते रतुवा खोलामा बोराभित्र पोको पारिएको अवस्थामा युवतीको शव फेला परेको थियो ।

एसपी खड्काका अनुसार घटनासम्बन्धी विभिन्न सामग्री तथा प्रमाणहरू संकलन गरिएको छ । अभियुक्तविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार