एमालेमा बढ्दै आन्तरिक दबाब, ओली र पुनर्गठन पक्षबीच संघर्ष चर्किने संकेत

1.5k Shares

काठमाडौं, जेठ २२ । गत फागुन २१ गतेको निर्वाचनमा नेकपा एमालेले अपेक्षाविपरीत नतिजा बेहोरेपछि पार्टीभित्रको शक्ति–संघर्ष नयाँ चरणमा प्रवेश गरेको छ। पार्टीको दुईदिने कार्यशालामा वरिष्ठ नेताहरूले नेतृत्व शैली, संगठनात्मक अवस्था र पुनर्गठनको आवश्यकताबारे खुलेर धारणा राखेपछि एमालेभित्र मतभेद सतहमा आएको हो।

कार्यशालामा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक निष्कर्षभन्दा फरक धारणा सार्वजनिक गर्दै पार्टीलाई यथास्थितिमा अघि बढाउन नसकिने बताएका छन्। उनीहरूले पार्टीभित्र खुला आत्मसमीक्षा, संगठनात्मक पुनर्गठन र यथार्थ मूल्यांकनको आवश्यकता औंल्याएका छन्।

महासचिव पोखरेलले कार्यकर्तासँग एउटा र नेतृत्वसँग अर्को कुरा गर्ने प्रवृत्तिले पार्टीलाई सही निष्कर्षमा पुग्न नदिने भन्दै नेताहरूलाई यथार्थ कुरा नेतृत्वसमक्ष राख्न निर्देशन दिएका छन्। उनले पार्टीको मनस्थिति, परिस्थिति र कार्यदिशा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै कसैको असन्तुष्टिका कारण परिवर्तनको बहस रोक्न नसकिने बताएका छन्।

उपाध्यक्ष पौडेलले पनि निर्वाचनमा जनताले अपेक्षाअनुसार मत नदिनुको कारण खोज्नुपर्ने र पार्टीको आमूल पुनर्गठन आवश्यक रहेको धारणा राखेका थिए। उनले कमजोरीको निर्मम समीक्षा गरेर समयानुकूल संगठनात्मक सुधार गर्नुपर्ने बताएका छन्।

यता अध्यक्ष ओलीले भने समीक्षा पार्टीलाई कमजोर बनाउन नभई थप सुदृढ बनाउनका लागि हुने बताएका छन्। उनले नेतृत्व छाड्ने कुनै संकेत नदिँदै आफू अझै पार्टी, आन्दोलन र देशको नेतृत्व गर्न सक्षम रहेको बताएका छन्। साथै पार्टीभित्र अनुशासन उल्लंघन भए विधानअनुसार कारबाही हुने चेतावनीसमेत दिएका छन्।

पार्टीभित्र पुनर्गठनको पक्षमा आवाज बढिरहेका बेला ओली पक्षले संगठनात्मक एकता र अनुशासनमा जोड दिएको छ। कार्यशालामा अधिकांश प्रदेशबाट संगठन सुधार, नेतृत्व शैली परिवर्तन र पुनर्गठनको आवश्यकता औंल्याइए पनि केही पक्षले वर्तमान नेतृत्वको निरन्तरता आवश्यक रहेको धारणा राखेका छन्।

एमाले सचिवालयले रामबहादुर थापाको नेतृत्वमा गठन गरेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। सोही प्रतिवेदनका आधारमा आगामी निर्णय हुने भएकाले आगामी दिनमा पार्टीभित्रको बहस अझ तीव्र हुने देखिएको छ।

पार्टीभित्र अध्यक्ष ओलीको निरन्तरताको पक्ष र नेतृत्व परिवर्तन तथा पुनर्गठनको पक्षबीच मतभेद बढ्दै गएको नेताहरूको भनाइ छ। कार्यदलको प्रतिवेदनले एमालेको भावी दिशा तय गर्ने भएकाले आगामी एक महिना पार्टी राजनीतिका लागि निर्णायक बन्न सक्ने विश्लेषण गरिएको छ।

सम्बन्धित समाचार