‘म’ होइन ‘हामी’ बन्न नेता–कार्यकर्तालाई रवि लामिछानेको आग्रह

1.8k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले व्यक्तिगत स्वार्थ र सङ्कीर्ण सोच त्यागेर ‘म’ बाट ‘हामी’ मा रूपान्तरण हुन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ।

रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन प्रक्रियाअन्तर्गत जारी जिल्ला अधिवेशनका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले अधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया नभई पार्टीको दीर्घकालीन जीवन, विधि, पद्धति र स्वस्थ राजनीतिक संस्कार निर्माण गर्ने ऐतिहासिक अवसर भएको बताउनुभयो।

सभापति लामिछानेले सक्षम, इमानदार र जनमैत्री नेतृत्व चयनका लागि संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक अभ्यासलाई रास्वपाको मूल संस्कारका रूपमा अघि बढाइएको उल्लेख गर्नुभयो।

उहाँले पुरानै सोच, शैली र प्रवृत्ति बोकेर नयाँ राजनीतिक शक्ति बन्न नसकिने भन्दै तदर्थ जिम्मेवारीलाई स्थायी अधिकार ठान्ने वा योगदानको हिसाबकिताब खोज्ने प्रवृत्ति पार्टीका लागि हितकर नहुने स्पष्ट पार्नुभयो।

चार वर्षको छोटो अवधिमै यस्ता प्रवृत्ति मौलाउन थालेको भन्दै उहाँले समयमै सुधार आवश्यक रहेको बताउनुभयो। नेतृत्वको जिम्मेवारीलाई भविष्यका संसदीय अवसरसँग जोडेर प्रतिस्पर्धा गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक प्रक्रियामार्फत नियन्त्रण गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

रास्वपा केही व्यक्तिको प्रयासले मात्र नभई मतदाताको विश्वास र पार्टी सदस्यहरूको समर्पणबाट यहाँसम्म आइपुगेको उल्लेख गर्दै उहाँले अब पार्टीको लक्ष्य वैकल्पिक शक्ति मात्र नभई मुलुकको नेतृत्व गर्न सक्ने सक्षम राजनीतिक शक्ति बन्नु रहेको बताउनुभयो।

संगठन विस्तारसँगै ‘म रहन्नँ कि’ भन्ने चिन्ता त्याग्न आग्रह गर्दै सभापति लामिछानेले पार्टी ठूलो हुँदा सबैको भूमिका अझ अर्थपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले पहिलो महाधिवेशन प्रक्रिया सभ्य, भव्य र सन्देशमूलक बनोस् भन्ने शुभकामना व्यक्त गर्दै सुसंस्कृत, पारदर्शी र जनमैत्री राजनीति निर्माणका लागि धैर्य, त्याग र समर्पण आवश्यक रहेको उल्लेख गर्नुभयो।

सम्बन्धित समाचार