काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्तिप्रति तीव्र असन्तुष्टि जनाएका छन्।
प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको केही भूभाग मिचेको हुन सक्ने बताएका थिए। उक्त अभिव्यक्ति सार्वजनिक भएपछि विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ।
यसैबीच, हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीमाथि आक्रोश व्यक्त गर्दै कडा शब्द प्रयोग गरेका छन्। उनले लेखेका छन्, ‘प्र.म.ले त नेपालले भारतको भूमि मिचेको रैछ भनेको ! हुतिहारा...।’
प्रधानमन्त्रीको भनाइलाई लिएर राजनीतिक वृत्त र सामाजिक सञ्जालमा बहस चर्किरहेको बेला साम्पाङको टिप्पणीले थप चर्चा पाएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिप्रति समर्थन र विरोधका मिश्रित प्रतिक्रिया आइरहेका छन्।