अछाम । अछामको कमलबजार नगरपालिका–७ क्वाल्लेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
गएराति तुर्माखाँद गाउँपालिका–३ निवासी २६ वर्षीय पुष्प बुढाले चलाएको से १ ज ६१३ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खस्दा कमलबजार–७ का ३४ वर्षीय कर्ण भाटको मृत्यु भएको हो।
दुर्घटनापछि गम्भीर घाइते भएका भाटलाई उद्धार गरी जिल्ला अस्पताल मङ्गलसेन लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
दुर्घटनामा मृतकका १३ वर्षीय छोरा मीनबहादुर भाट र ३० वर्षीय बद्री भाट घाइते भएका छन्। दुवै जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको प्रहरीले जनाएको छ।