पोखरामा ‘स्विप अप्रेसन’ : मापसे, लागुऔषध र ट्राफिक उल्लङ्घनमा ४० जना कारबाहीमा

2.1k Shares

पोखरा । समाजमा अवैध गतिविधि, गुण्डागर्दी तथा शान्तिसुरक्षामा खलल पुर्‍याउने कार्य नियन्त्रण गर्न प्रहरीले सञ्चालन गरेको ‘स्विप अप्रेसन’ अन्तर्गत शनिबार कास्कीका विभिन्न स्थानबाट ४० जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ।

वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखरा महानगरपालिका–१७ दोबिल्ला क्षेत्रमा जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने दुई जना र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ जनालाई कारबाही गरेको छ।

त्यस्तै, पोखरा–२३ र २४ अन्तर्गत घाँटीछिना क्षेत्रमा मापसे गरेर सवारी चलाउने नौ जना तथा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई जनामाथि कारबाही गरिएको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले पोखरा–१६ अकलामा लागुऔषध सेवन गरी सवारी चलाउने एक जना, मापसे गर्ने तीन जना र ट्राफिक नियम उल्लङ्घन गर्ने चार जनालाई नियन्त्रणमा लिएको छ।

यस्तै, माछापुछ्रे गाउँपालिका–८ भेडाभारी क्षेत्रमा मापसे गरी सवारी चलाउने चार जना, स्वरूप परिवर्तन गरी सवारी चलाउने एक जना र ट्राफिक नियम उल्लङ्घन गर्ने छ जनामाथि पनि कारबाही गरिएको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट परिचालित तालिमप्राप्त कुकुरसहितको टोलीले सवारीसाधन जाँचमा सहयोग गरेको थियो।

प्रहरीले रातिको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्ति भंग गर्ने, गाँजालगायत लागुऔषध सेवन गर्ने तथा जुवातासजस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन नियमित रूपमा ‘स्विप अप्रेसन’ सञ्चालन गर्दै आएको जनाएको छ।

प्रहरीका अनुसार सामान्य अवस्थाका व्यक्तिलाई सम्झाइबुझाइ अभिभावकको जिम्मा लगाइने गरिएको छ भने आपराधिक पृष्ठभूमि भएका तथा पटक–पटक यस्ता गतिविधिमा संलग्न हुने व्यक्तिविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइनेछ।

सम्बन्धित समाचार