बागमती प्रदेशमा रास्वपाको शक्ति परीक्षण, आजदेखि अधिवेशन

1.5k Shares

हेटौँडा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेशस्तरीय अधिवेशन आजदेखि सुरु हुँदैछ। पार्टीले प्रदेश अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गर्न लागेको हो। हेटौँडास्थित हिमालयन दरबारमा आयोजना हुने अधिवेशनको उद्घाटन पार्टीका सभापति रवि लामिछाने ले गर्ने कार्यक्रम तय भएको छ।

प्रदेश सभापति पदका लागि हालका बागमती प्रदेश सभापति डा. अच्युतम लामिछाने पुनः उम्मेदवार बन्ने आकांक्षामा देखिएका छन्। उनी नुवाकोटबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन्।

त्यस्तै, प्रदेश उपसभापति पदका लागि डा. रमेश ढकाल आकांक्षी रहेका छन्। ढकाल लामो समयदेखि चिकित्सा क्षेत्रमा सक्रिय रहँदै आएका छन् भने जोरपाटीस्थित शंखरापुर अस्पतालका सञ्चालकसमेत हुन्। महामन्त्री पदमा हालका महामन्त्री सुरेन्द्र भट्ट पुनः उम्मेदवार बन्ने तयारीमा छन्।

रास्वपाको विधानअनुसार बागमती प्रदेश समिति ६५ सदस्यीय रहने व्यवस्था गरिएको छ। समितिमा सभापति, उपसभापति र महामन्त्री एक–एक जना रहने प्रावधान छ। साथै, दुई जना सहमहामन्त्री रहनेछन् र उनीहरू फरक–फरक लिङ्गका हुनुपर्ने व्यवस्था विधानमा उल्लेख गरिएको छ।

पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता रहने व्यवस्था गरिएको छ। निर्वाचन प्रक्रियाअनुसार पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ। त्यसपछि प्रदेश सदस्यमा निर्वाचित भएकामध्येबाट थप पदाधिकारी चयन गर्न दोस्रो चरणको मतदान गरिनेछ।

रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप हालसम्म ५६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ। बाँकी जिल्लामा विविध कारणले रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको पार्टीले जनाएको छ।

केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीका अनुसार हाल १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी छ भने केही जिल्लामा प्राविधिक कारणले अधिवेशन सुरु हुन बाँकी छ। पार्टीले जेठ २३ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको थियो। यसअघि वडा र पालिका तहको अधिवेशनसमेत सम्पन्न भइसकेको छ।

रास्वपाको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने तय भएको छ।

सम्बन्धित समाचार