चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

2.1k Shares

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्दै लागू गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त कार्यविधि पारित गरेको हो।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको २४ घण्टाभित्रै कार्यविधि पारित गरिएको हो। यससँगै विगतदेखि देखिएको कानुनी अस्पष्टता र अन्योलको दीर्घकालीन समाधान भएको जनाइएको छ।

नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐन संशोधन अध्यादेश, २०८३ मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा दफा ५४ (ख) थपिएपछि आयोगलाई आवश्यक निर्देशिका तथा कार्यविधि निर्माण गर्ने कानुनी आधार प्राप्त भएको थियो। यसअघि विधायन ऐन, २०८१ को दफा ३५ का कारण आयोगका पुराना निर्देशिका र कार्यविधि स्वतः खारेज हुँदा कानुनी रिक्तता उत्पन्न भएको थियो।

नयाँ कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराएबापत अनुदान वितरण गर्ने व्यवस्था गरेको छ। स्नातकोत्तर तहका डीएम र एमसिएच कार्यक्रमसमेत यस व्यवस्थाभित्र समेटिएका छन्। साथै, चिकित्साशास्त्र अध्ययन गराउने शिक्षण संस्थाले सबै तहमा निःशुल्क छात्रवृत्ति प्रदान गरेबापत आयोगबाट अनुदान प्राप्त गर्ने बाटो खुलेको छ।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरी तथा अन्य सदस्यहरूको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार