ललितपुर महानगरमा ‘एलएमसी ई–चलान’ सेवा सुरु, क्युआर स्क्यानबाटै जरिवाना तिर्न सकिने

2.1k Shares

ललितपुर । ललितपुर महानगरपालिकाले आर्थिक पारदर्शिता र छिटोछरितो सेवा प्रवाहलाई प्राथमिकता दिँदै प्रविधिमा आधारित ‘एलएमसी ई–चलान’ सेवा सञ्चालनमा ल्याएको छ। महानगर प्रमुख चिरीबाबु महर्जनले सवारी नियम उल्लङ्घन तथा जथाभावी फोहर फाल्ने व्यक्तिहरूलाई लगाइने जरिवाना अब क्युआर स्क्यानमार्फत डिजिटल रूपमा भुक्तानी गर्न सकिने व्यवस्था लागू गरिएको जानकारी दिनुभयो।

महानगरका अनुसार असार १ गतेदेखि लागू भएको यस सेवाले नागरिकलाई जरिवाना तिर्न कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्त गर्नेछ। प्रमुख महर्जनले नियम पालना गर्ने संस्कृतिलाई प्रवर्द्धन गर्दै गल्ती भए पनि समय बचत र सहज भुक्तानीका लागि नयाँ प्रणाली सुरु गरिएको बताउनुभयो।

सेवाका प्राविधिक सहजीकरणकर्ता दीपक मल्लका अनुसार अनधिकृत पार्किङमा राखिएका सवारीसाधनमा नगर प्रहरीले क्युआर कोडसहितको ह्वील लक लगाउनेछ। सवारीधनीले सो क्युआर स्क्यान गरी जरिवाना तिरेपछि सूचना तत्काल नगर प्रहरीसम्म पुग्नेछ र सम्बन्धित स्थानमै पुगेर ह्वील लक खोलिनेछ।

यसअघि ह्वील लक खोलाउन नगर प्रहरी कार्यालयमै पुगेर जरिवाना बुझाउनुपर्ने व्यवस्था थियो, जसका कारण नागरिकको समय र खर्च दुवै बढ्ने गरेको थियो। नयाँ प्रणालीले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने महानगरको विश्वास छ।

महानगरले जथाभावी फोहर फाल्ने व्यक्तिलाई पनि घटनास्थलमै क्युआर स्क्यानमार्फत जरिवाना तिर्न सकिने व्यवस्था मिलाएको जनाएको छ। यसबाट राजस्व संकलन पारदर्शी हुने र आर्थिक सुशासनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

 
 
सम्बन्धित समाचार