शुक्लाफाँटाको पर्यटक आकर्षण बनेका अनुभवी नेचर गाइड कुम ठाकुर

1.1k Shares

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लामो समयदेखि नेचर गाइडका रूपमा काम गर्दै आएका कुम ठाकुर पर्यटकको रोजाइमा पर्ने अनुभवी गाइडका रूपमा परिचित छन्। करिब १३ वर्षदेखि निरन्तर यस क्षेत्रमा काम गर्दै आएका उनी निकुञ्जका प्रमुख गतिविधि, वन्यजन्तु र भूगोलबारे गहिरो जानकारी राख्ने गाइडमध्ये एक मानिन्छन्।

भीमदत्त नगरपालिका–१४ नयाँबस्तीका ३७ वर्षीय ठाकुरले सन् २००७ मा नेचर गाइड तालिम लिएपछि पर्यटन क्षेत्रमा प्रवेश गरेका थिए। सन् २००९ मा रोजगारीका लागि मलेसिया गए पनि तीन वर्षपछि फर्किएर उनले पुनः शुक्लाफाँटामै नेचर गाइडको काम थाले। उनी अहिले नेचर गाइड एसोसिएसन शुक्लाफाँटाका अध्यक्षसमेत हुन्।

ठाकुरका अनुसार विदेशी रोजगारीभन्दा आफ्नै गाउँघरमा पर्यटकलाई वन्यजन्तु र प्राकृतिक वातावरणसँग परिचित गराउन पाउँदा सन्तुष्टि मिल्छ। “सिनियर नेचर गाइड भएकाले पर्यटक लिएर जानेमध्ये म अग्रस्थानमै पर्छु,” उनले भने।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु र विविध चराचुरुङ्गीका लागि प्रसिद्ध गन्तव्य हो। यहाँ ४६५ भन्दा बढी प्रजातिका चरा पाइने भएकाले विशेषगरी चरा अवलोकन (बर्डवाचिङ) का लागि विदेशी पर्यटकको आकर्षण बढ्दो छ। आन्तरिक पर्यटक भने बाघ र बाह्रसिङ्गे हेर्न बढी रुचि देखाउँछन्।

ठाकुरका अनुसार गर्मीयाममा बाघ देखिने सम्भावना बढी हुन्छ भने फागुनदेखि जेठसम्म पर्यटकको चाप उच्च रहने गर्छ। कोभिडपछि केही समय पर्यटक आगमन प्रभावित भए पनि पछिल्ला वर्षमा पुनः वृद्धि भइरहेको छ।

उनले चरा अवलोकनकर्तादेखि फोटोग्राफर, मोडल, कलाकार र भ्लगरसम्मलाई निकुञ्ज घुमाउने गरेको बताए। साथै, आफूले यहाँ पाइने वन्यजन्तुका तस्बिर र भिडियो पनि कैद गर्दै आएको उनले जनाए।

शुक्लाफाँटामा जीप सफारी र जंगल वाकमार्फत पर्यटकलाई अवलोकन गराइन्छ। नेचर गाइडका रूपमा ठाकुरले मासिक करिब २५ देखि ३० हजार रुपैयाँ आम्दानी हुने गरेको बताए। उनका अनुसार जुनियर गाइडले करिब एक हजार रुपैयाँदेखि सेवा शुल्क लिन्छन् भने चरा अवलोकनका लागि दुई हजार रुपैयाँभन्दा बढी शुल्क लिने चलन छ।

निकुञ्जको मझगाउँ र नयाँबस्ती क्षेत्रमा करिब १०–१२ जना नेचर गाइड सक्रिय रूपमा कार्यरत छन्। तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा घाँसे मैदान, तालतलैया र विविध वन्यजन्तु पाइने भएकाले यो क्षेत्र प्राकृतिक अध्ययन र अनुसन्धानका लागि पनि महत्वपूर्ण मानिन्छ।

ठाकुरका अनुसार बाघ प्रायः रानीताल, बाबाताल, सालगौडी ताल, चौधर खोला, शिकारी ताल, घाँसे मैदान र बर्कौला क्षेत्रमा बढी देखिने गर्छ। शुक्लाफाँटा यस कारण पनि देशकै प्रमुख वन्य पर्यटन गन्तव्यमध्ये एक बन्दै गएको छ।

सम्बन्धित समाचार