रास्वपा महाधिवेशनमा शीर्ष नेताबीच ५ घण्टादेखि छलफल, बन्दसत्र ढिलाइ
1.6k
Shares
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई शीर्ष नेताबीच पाँच घण्टादेखि जारी छलफल अझै टुंगिएको छैन। छलफल लम्बिँदा बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र पनि अझै अघि बढ्न सकेको छैन ।
महाधिवेशनस्थलमा सहभागी प्रतिनिधिहरूले बन्दसत्र तत्काल सुरु हुनुपर्ने माग राखिरहेका छन् । तर नेताहरूबीच प्रदेश प्रतिनिधिको संख्या मिलाउने, विवाद समाधान गर्ने तथा राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिने विषयमा सहमति नजुट्दा प्रक्रिया अघि बढ्न ढिलाइ भएको हो ।
सचिवालयका अनुसार सभापति रवि लामिछानेले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिन वरिष्ठ नेता बालेन्द्र शाहसँग पनि छलफल भइरहेको छ । प्रतिवेदनमा पार्टीको नीति, सरकारप्रतिको दृष्टिकोण, अन्तर्राष्ट्रिय सम्बन्ध तथा अर्थनीतिसम्बन्धी विषय समेटिएका छन् ।
लटौली स्याङ्चुरी रिसोर्टमा भइरहेको छलफलमा सुरुमा केही सीमित नेताहरू मात्रै सहभागी थिए। उपसभापति डा. स्वर्णिम वाग्ले पनि प्रारम्भिक छलफलमा उपस्थित थिए । बालेन्द्र शाहले केही नेताहरूसँग अलग्गै छलफलसमेत गरेका थिए ।
छलफलमा पदाधिकारी चयन, सचिवालय संरचना, तथा निर्वाचनमार्फत नेतृत्व चयन गर्ने वा सर्वसम्मत गर्ने भन्ने विषयमा पनि बहस भइरहेको छ । महामन्त्री, उपसभापति र सहमहामन्त्री लगायत पदमा सहमति जुटाउन नेताहरूलाई चुनौती देखिएको छ ।
दुवै पक्षको सचिवालयका अनुसार करिब ९९ केन्द्रीय सदस्य निर्वाचनमार्फत चयन गर्ने तयारी छ भने करिब ४५०० आकांक्षीहरू प्रतिस्पर्धामा छन् ।
अनुशासन आयोगको प्रतिवेदन तथा पार्टी विधानसमेत नेताहरूबीच छलफलपछि अन्तिम रूप दिइँदैछ । कार्यदलले तयार पारेको संशोधित विधान महाधिवेशनबाट पारित गरिनेछ ।
महाधिवेशन ढिलाइ हुँदा प्रतिनिधिहरूले छिटो बन्दसत्र सुरु गर्न माग गरिरहेका छन् भने नेताहरूले पार्टी एकता र सहमतिका लागि छलफल जारी राखेका छन् ।